शनिबार, पुष १९, २०८२

रास्वपा संसदीय दलको बैठक मङ्गलबार

मेरोन्यूज २०८१ साउन २८ गते २०:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि बिहान १०:३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले बताए । ‘बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनेछ’, प्रवक्ता झाले भने, ‘यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्नेछौँ ।’

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले जानकारी दिए ।

प्रतिक्रिया