बिहीबार, चैत १९, २०८२

मौरीससमा ग्रीनकार्ड पाइने प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

मेरोन्यूज २०८१ साउन २९ गते १०:५४

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेले एक महिलालाई २०८० माघ १३ गते नेपालबाट नयाँ दिल्ली हुँदै मोरीसस पुर्‍याएका थिए।

त्यहाँ मासिक ७० हजार नेपाली रुपैयाँ कमाई हुने भनी न्यौपानेले महिलाबाट लागत खर्च भनी २ लाख ५० हजार रुपैयाँ लिएका थिए।

कुकको काममा लगाइदिने र केही समयपछि ग्रीनकार्ड पाइने भनेपछि महिलाले न्यौपानेलाई रकम दिएकी थिइन्।

मिश्रका अनुसार न्यौपानेले त्रिभुवन विमानस्थलबाटै दिल्ली उडाएका थिए। विमानस्थलमा न्यौपानेले महिलालाई ‘मोरिसस’ लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए।

न्यौपानेका साथीले मौरीससको विमानस्थलमा महिलालाई रिसिभ गरेर उतैका नागरिकलाई जिम्मा दिए।

ती नागरिकले बुद्धिराज न्यौपानेबाट ‘उपहारस्वरुप खरिद गरी ल्याएको’ भन्दै महिलालाई दैनिक १७/१८ घन्टा घरायसी काममा लगाउन थाले।

‘महिलालाई खाना खान र तलबसमेत नदिएर चरम श्रम र यौनशोषण गरेको खुल्न आएको छ,’ मिश्रले भने।

मौरीससका नागरिकसँग महिलाले नेपाल फर्काइदिन अनुरोध गरिन्। तर, उनले डर-धम्की दिएर राखिरहे।

ती महिला काम गरेको ठाउँबाट राति भागेर पोर्चुगलमा रहेका नेपालीहरूको सहयोगमा २०८१ असार २० गते नेपाल आइपुगेकी थिइन्। महिलाले नेपाल आएर जाहेरी दिएपछि प्रहरी न्यौपानेको खोजीमा थियो।  

पक्राउ परेका न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए।

प्रतिक्रिया