आइतबार, चैत ८, २०८२

नेपाल टेलिकमले मनास्लु हिमाल क्षेत्रमा पुर्यायो फोरजी सेवा

मेरोन्यूज २०८१ साउन ३१ गते १३:५३

काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका बिभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

स्वदेशी तथा विदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दो सम्म कम्पनीले टूजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको ४जी सेवा समेत सञ्चालन गरेको कम्पनीका प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए।

ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा भीस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्समिसन लिंकले प्रतिस्थापन गरी टूजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा ४जी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी २जी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको छ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया