क्यानको केन्द्रीय कार्यसमितिको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो । क्यानले १० दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको संख्या बारे जानकारी दिएको थिएन । क्यानले आव्हान गरेको फ्रेन्चाईजी आवेदनमा १६ जनाले आवेदन दिएको र केहि दिनमा नै क्यानले फ्रेन्चाइजी टिमको टुंगो लगाउने तयारी गरेको छ ।
क्यानको बैठकले अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी- २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै मुख्य प्रशिक्षक मोन्टी देशाईसहितलाई जनही ३ लाख र प्रशिक्षण टिमका अन्य सदस्यलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
त्यस्तै क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई २ महिला र ३ पुरुष गरी प्रति प्रदेश ५ खेलाडीलाई सेप्टेम्बर १ देखि लागू हुने गरी वार्षिक जनही १५ हजारको दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशले नै खेलाडीसँग सम्झौता गरी केन्द्रबाट पारिश्रमिक निकासा लिनेछ । ७ प्रदेशका कुल ३५ खेलाडी यस सम्झौतामा पर्नेछन् ।
त्यसैगरी क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय छनोट समिति गठन गरेको छ । छनोट समितिका लागि क्यानले आवेदन मागेको थियो । क्यानले समितिका अन्य दुई सदस्यमा युनिल श्रेष्ठ र मुर्तुजा हवारीलाई चयन गरेको छ ।
त्यस्तै यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय गरेको छ । नेपालले अप्रिल १२ देखि २१ सम्म आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट छनोट आयोजना गर्दै छ । नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि घरेलु प्रतियोगिता नेपालको छनोट आधार हुनेछ ।
त्यस्तै, आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको तयारीस्वरूप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गरिने क्यानले निर्णय गरेको छ ।
क्यानको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्ने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले आफ्नो वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने भएको छ ।
त्यसैगरी क्यानले स्पट फिक्सिङका आरोपमा निलम्बित आदिल आलमको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार निर्णय गर्ने जनाएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया