शुक्रबार, चैत ६, २०८२

किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम

मेरोन्यूज २०८१ भदौ २० गते १०:००

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा पशुपालक किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम प्रदान गरिएको छ । पालिकामा दूध र मासु उत्पादन बढाउन किसानलाई थप व्यावसायिक बनाउँदै लैजाउनुपर्ने भएकाले विज्ञ पशुचिकित्सक बोलाएर तालिम सञ्चालन गरिएको गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

“दैनिक जीविकोपार्जनका लागि घरमा वर्षौंदेखि पशुपालन गर्दै आएका किसान छनोट गरेर तालिम दिइएको छ”, उनले भने, “पशुबस्तुको राम्रो स्याहारसुसार गर्न नजान्दा किसानले पर्याप्त लाभ लिन नसकेकाले विज्ञ पशु चिकित्सकमार्फत तालिम प्रदान गरिएको हो ।” तालिमबाट किसानले पशुवस्तुको हेरचाह र सामान्य रोगको पहिचान तथा प्राथमिक उपचारकाबारेमा जानकारी लिएका छन् ।

त्यस्तै नश्ल गुणस्तर पहिचान, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहार बनाउने तरिकालगायत विषयमा पनि तालिमका माध्यमबाट किसानलाई जानकारी प्रदान गराइएको उनको भनाइ छ । तालिममा पशुविज्ञ चिकित्सक डा कमलेश्वर भट्टलगायतले सहभागी किसानलाई सहजीकरण गर्नुभएको हो । तालिममा गाउँपालिकाअन्तर्गत वडा नं ७ र ८ का ५० जनाभन्दा बढी पशुपालक किसानको सहभागिता थियो ।

गाउँघरमा प्रायः देखिने खोरेत, लम्पीस्किन, थुनेलो, पड्के आदि रोगबाट पशुबस्तुलाई जोगाउन र रोग लागेमा उपचारका लागि किसानले ध्यान दिनुपर्ने विषयमा विज्ञहरुले तालिममार्फत किसानलाई सचेत गराएका छन् । विज्ञले किसानलाई गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न सिकाइएको तालिममा सहभागी हुनुभएका पशुपालक किसान शरण श्रेष्ठले बताए ।

पशुबस्तुका लागि खोपको महत्व र पशु बीमा आवश्यकता बारेमा सचेतनाले तालिम प्रभावकारी भएको उहाँको भनाइ छ । युवा शक्ति समाज रुपान्तरणको सहयोग तथा मिलनसार युवा क्लबको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया