बुधबार, चैत ११, २०८२

कैलालीमा बाढीः छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

मेरोन्यूज २०८१ भदौ २९ गते ६:५४
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ र ८ मा बाढीले जलमग्न घरहरु । तीन दिनदेखिको वर्षापछि आएको बाढीले यहाँ डुबान भएको छ । तस्बिर ः दुर्गा देवकोटा / रासस

कैलाली । कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई आज सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

कैलालीका पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेका उनले बताए।

सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४, ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टिकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिए।

आठ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठ जनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ ।

जिल्लामा छ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुई जना घाइते भएका छन् । बाढीले छ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्‍याएको सूचना अधिकारी जोशीको बताउनुभयो । जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान हुने स्थानका नागरिकलाई उच्च सतर्कता सअपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया