शनिबार, फागुन ९, २०८२

वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ

मेरोन्यूज २०८१ असोज ९ गते २१:१९

महोत्तरी। यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउपर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। जिल्ला प्रहरी कार्यालयले निजहरुउपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ।

नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु.प्र.०१–००१प।६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो।

घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए।  जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु  सञ्जीव र दिलीप पक्राउ परेका हुन्।

घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरुले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शङ्कास्पद रहेको  माओवादी केन्द्रले जनाउँदै आएको थियो।

पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया