पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।
मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताए । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।
कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए।
गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा–१० र फलेवास–३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक-सल्यान-घाहाखेत धारापानी-ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ । यसैगरी कुश्मा-२ को हिमालय मावि-पाङ- नुहार-खनियाघाट सडक, खुर्कोट-पाङ-नालिवाङ-धाइरिङ-मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक-चित्रे-गगटे-राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।
फलेवास नगरपालिकाको खुमबाट भँगरा-बेतेनी-सल्यानधारा-घन्तरी-लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास-पूर्णगाउँ-पैँयुकोट-लुड्खु सडकका लागि रु तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ । उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेका थिए ।
यसैगरी जलजलाको मिलनचोक-रातमाटा-भोटेडाँडा-शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर-घाखेत-धारापानी-कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमुनीघाट सडकका लागि पनि रु आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला-सिल्मी-ठूलीपोखरी-खौला-कार्कीनेटा र धरादी-काउँडाँडा-सौर्यकोट-हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताए।
पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए । उनले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिए। आव २०८०/८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया