शुक्रबार, चैत १३, २०८२

बाढी पछि पशुपति क्षेत्रमा सरसफाइ

मेरोन्यूज २०८१ असोज १९ गते १२:४५

काठमाडौं ।  नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङल गायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । 

यही असोज १०, ११ र १२ गतेको वर्षा र त्यस पछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए । सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडा तह सम्म जागरण अभियान चलाउने पनि जनाइएको छ । त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरुप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको बागमती सफाइ गरिएको थियो । 

कांग्रेसले बाढी, पहिरोका कारण बागमती  नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रुपमा सफाइ गर्ने जनाएको छ । यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनार स्थित बिपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी  दिए । 

सम्पदा सफाइ अभियानमा जुट्न उनले पार्टीका विभिन्न तहमा क्रियाशील नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् । बाढी, पहिरो बाट बागमती किनारमा     जम्मा भएको फोहर सफाइ अभियान सके पछि बागमतीको मुहान स्थित बागद्वार बाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ । 

यो अभियानका लागि बी.पी. सङ्ग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको पनि कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया