बुधबार, चैत ४, २०८२

सर्लाहीमा बाढीमा परी मृत्यु भएकाका २ परिवारलाई राहत रकम प्रदान

मेरोन्यूज २०८१ असोज २० गते १५:४०

बरहथवा(सर्लाही) । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको हो । प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिए।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका–३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र वडा नम्बर-१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो ।

उनिहरु दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो । दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरुप सङ्घीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो ।

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एकरएक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिए। विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबार मात्र जनही रु २५ हजार रकम उपलब्ध गराएको उनको भनाइ थियो ।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका-९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो । महतो परिवारलाई पनि राहत स्वरुप रु दुई लाख प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया