सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।
संघीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।“जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उनले भने, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुकसाम्बामा बेलीब्रिज बनाउन चालु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीन वटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन सङ्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताए ।
सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताए ।“हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उनले भने, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चौँरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।
सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडा सदस्य छिरिङपासाङ गुरुङले बताए । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उनले बताए।
समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।
















गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया