अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोक मार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँ ठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।
नेपालीको महान् चाड बडादसैँलाई लक्षित गर्दै फलेबास नगरपालिकाको पटक पटकको आग्रहपछि आयोजना कार्यालयले सडक मर्मत गरेर सञ्चालनमा ल्याएको फलेबास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक खुलाउन आनाकानी गरेपछि नगरपालिकाले आयोजनालाई आग्रह दिएको थियो ।
सडक सञ्चालन भएसँगै कुश्मादेखि दक्षिण पर्वतका फलेबास, महाशिला, विहादी, पैयुँ गाउँपालिकामा जाने सवारीसाधन सो मार्ग हुँदै चल्न थालेका छन् । त्यस क्षेत्रमा बासिन्दालाई झण्डै एक घण्टाको सवारी यात्रा छोटिएको नगरप्रमुख तिवारीले बताए । यसअघि जिल्लाका चार पालिकामा जाने सवारीसाधन दोबिल्ला–साइकल चोक–मुडिकुवा हुँदै जाने गरेका थिए ।
निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी लोक मार्गको फलेबास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण सात वर्षदेखि पूरा हुन सकेको छैन । मोदीवेणीदेखि मुडिकुवासम्मको खण्ड सञ्चालनमा आए पनि अर्मादीदेखि–मोदीबेनीसम्म भने अवरुद्ध नै रहेको छ ।
लोक मार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि फलेवाससम्मको २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने फलेबास–अर्मादी खण्डको १४ किमी भने निर्माण कम्पनीको लापरबाहीका कारण समयसमयमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको बोलपत्र आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता नभएको कालीगण्डी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्नेमा काम नसकिएपछि थप गरिएको समय २०८१ असोज मसान्तसम्म रहेको कार्यालयले जनाएको छ । रु नौ करोड १७ लाख ४९ हजारको लागतमा यो खण्डको कालोपत्रेबाहेक स्तरोन्नतिको सबै काम सकिने इञ्जिनियर सुरेन्द्र गौतमले बताए । निर्माण जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
कार्यालयका अनुसार स्याङ्जाको मिर्मिदेखि पर्वतको सेती बेनीसम्मको १० किमी सडक पनि कालोपत्रको चरणमा रहेको छ भने पर्वतको माल ढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किमी सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने योजना छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया