विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।
विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताएका हुन् ।
“देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरुरी छ”, अध्यक्ष दाहालले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”
पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठुलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्त्वपूर्ण अवसरका रूपमा खुसीयालीपूर्वक मनाउन सबैमा अपिल गरेका छन् ।
विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठुलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताए ।
दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पीडा र चुनौतीको बिचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले भनेका छन्, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारविहीन नागरिकलाई पुनर्स्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”
अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया