धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा रु तीन करोड २० लाख लागतमा भवन निर्माण गरिएको हो।
विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो। तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन्। जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ।
महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए। आश्रम भवनको सबैजसो काम सकिएको जनाइएको छ।
चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि एक करोड ५० लाख बजेट बिनियोजन भइसकेको जनाइएको छ। भवनमा एकपटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए। आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ।
लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताए। महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताए।
यहाँ एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायतका अवसरमा मेला लाग्ने गर्दछ। महाशिला गाउँपालिकाको नामाकरण पनि यही शिलाको नामबाट नामाकरण गरिएको हो। एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ। शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा समेत दान गरेका छन्। अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए।
महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाको गुरुयोजना समेत बनाएको छ। गुरुयोजना अनुसार कामहरू अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रतिक्रिया