जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् ।
विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् । बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् ।
स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका हेरिटेज गेष्ट हाउसका सञ्चालक किसान प्रधानले विदेशी पर्यटक यहाँको संस्कृति देखेर आकर्षित भएको बताए ।
उनले भने, “विदेशीहरूले यहाँको संस्कृति, रीतिरिवाजबारे बुझ्ने प्रयास गरेपछि उनीहरूलाई विभिन्न जातजातिका पोसाकको व्यवस्था गराएर स्थानीयवासीको सहयोगमा नचायौँ । उनीहरू निकै खुसी देखिए ।”
स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए । प्रधानले भने, “बन्दीपुर घुम्न आउने पर्यटक यहाँको संस्कृति, रीतिरिवाज, जातजातिको एकता देखेर मोहित हुन्छन् ।”
बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भिजिट बन्दीपुर २०२५ घोषणा गरिसकेको छ ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए ।
गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
देशका मुख्य सहर काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया