बिहीबार, फागुन १४, २०८२

नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा एनआरएनको १० अर्ब लगानी

मेरोन्यूज २०७८ वैशाख ६ गते १९:५२

काठमाडौं । एनआरएन नेपाल डेभलप्मेन्ट फण्डमार्फत गैरआवासीय नेपाली संघले नेपालको उद्यम, व्यवसाय र पूर्वाधार क्षेत्रमा १० अर्बको कोष खडा गरेर लगानी गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका अध्यक्ष डा उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई लक्षित गरी १० अर्बको कोषलाई छिट्टै प्राथमिक शेयर निष्काशन गरिने जानकारी दिए । कोषमा नेपाल सरकारको ५ प्रतिशत शेयरसमेत रहेको छ ।

उनले १० अर्बको कोषलाई ५० अर्ब बनाएर संस्थागत रुपमा नेपालीको लागनीबाट नेपाल बनाउने अभियानमा लागिएको बताए । अध्यक्ष महतोले चुनौतीसँगै चालिएको व्यक्तिगत लगानीलाई सामूहिकमा लैजाँदा छिट्टै प्रगति हुने भएकाले कोषको प्रवद्र्धन, पूँजी परिचालनलगायत विभिन्न लगानीयोग्य कोषको निर्माणसहित पूँजी र प्रविधिलाई अगाडि बढाउने दाबी गरे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विदेशी लगानी भित्राउनका लागि एनआरएनको परिकल्पनालाई साकार पार्न सरकारले सक्दो सहयोग गर्ने बताए । उनले राष्ट्रको विकासका लागि कानुनी, नीतिगत रुपमा सुधार गर्दै अघि बढ्ने धारणा राखे । उनले नेपालको विकासका लागि लगानी भित्राउन अवैध पूँजी हुन नहुने, बैंकिङ प्रणालीमार्फत रकम भित्र्याउनुपर्ने र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिए ।

अर्को एक प्रसंगमा अर्थमन्त्री पौडेलले नेपाल हिंसाबाट शान्तिमा प्रवेश गरेकाले लगानीको वातावरण दरिलो बन्दै गएको बताए ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तले २०७५ चैत १६ को लगानी सम्मेलनमा भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि गत चैत ३० गते एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड कम्पनी दर्ता भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थसचिव शिशिरकुमार ढुंगानालगायतले कोषमार्फत मातृभूमिको समृद्धिमा लाग्ने गैरआवासीय नेपालीको चाहनाको प्रसंशा गरेका थिए ।

प्रतिक्रिया