बिहीबार, फागुन २८, २०८२

पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

मेरोन्यूज २०८१ कार्तिक २६ गते १३:११

काठमाडौंँ । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ। १८ पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँदिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन्। मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ। भारतका डा. बेनेट फर्नान्डेज, मेक्सिकोकी रिता अगुइलर गोन्जालेज, सिंगापुरकी डा. म्यारी एङ, अमेरिकाकी डा. लिनोरा पिटरसन, जिम्बाबेकी डा. प्याट्टसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायत समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उनी नेपालबाट एकजना मात्र रहेका छन्।

समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोसले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुर्‍याउँदै आएका छन्। मदर टेरेसाका मूल्य–मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दताको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ। 

पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मिहिनेतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकामा गौरवान्वित भएको बताए।

हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवर्द्धनमा सक्रिय हुँदै आएका छन्। उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो।

यति मात्र होइन, गिनिज वर्ल्ड रेकर्डस् डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उनी पनि परेका थिए। उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानिज कम्युनिटी एसोसिएसन इन्क, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोडेका थिए भने ९ मार्च २०२३ मा न्युयोर्कमा जिपिके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिज वर्ल्ड रेकर्ड तोडेका थिए।

प्रतिक्रिया