राम–सीताको मूर्ति सहितको शोभायात्रा देवघाटबाट माडीका लागि प्रस्थान

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ ।
मङ्गलबार साँझ देवघाट पुगेको शोभायात्रा आज बिहान ८ः३० बजे माडीका लागि प्रस्थान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित शोभायात्रालाई बिदाइ गरिएको हो ।
आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानीयवासीले कलशयात्रासहित शोभायात्रालाई बिदाइ गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति मङ्गलबार लगिएको हो ।
यसरी लगिएका मूर्ति अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज मध्यान्ह १२ बजे राख्ने कार्यक्रम छ । सो कार्यक्रममा मन्त्री ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका उच्च अधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ ।
गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो ।
प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर लगिएको हो ।
उक्त शोभायात्रा दासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, हाकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने छ । (रासस)

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया