नेत्रहीन क्रिकेट टोली पाकिस्तानमा हुने टी-२० विश्वकपमा सहभागी हुँदै

काठमाडाैं । राष्ट्रिय नेत्रहीन क्रिकेट टोली पाकिस्तानमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने भएकाे छ ।
नेत्रहीन क्रिकेट संघ नेपालले मंसिर २ गते (शनिबार) काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने क्रममा यसबारे जानकारी दिएकाे हाे ।
वि.सं २०६३ सालमा स्थापना भएकाे संघले ४ वटा विश्वकप प्रतियोगितामा पुरुष टोलीलाई सहभागि गराइसकेको छ । त्यसैगरी दृष्टिविहीन महिला क्रिकेट टोलीले पनि सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँग मैत्रीपूर्ण दुवै प्रतियोगितामा जीत हासिल गरेको थियो ।
कार्यक्रममा बाग्मती खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सबै एक जुट भएर अगाडी बढ्नुपर्ने बताए । साथै नोभेम्बर २२ देखि डिसेम्बर ३ तारिख सम्म पाकिस्तानमा हुने टी-२० विश्वकप क्रिकेटका लागि जाने खेलाडीहरूका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पारे ।
संघका अध्यक्ष पवन घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल, यसको सुरुवातका विषयमा प्रस्तुतीकरण गरे । साथै अपाङ्गता भएका व्यक्तिका खेलकुदका सामाग्रीहरूलाई सञ्चार माध्यमहरूले प्रमुख प्राथमिकता दिएमा उनीहरुका मुद्दामा सम्बन्धित निकायको ध्यान केन्द्रित हुने र खेलकुदको विकासमा, अपाङ्गता प्रति भएको पारिवारिक तथा सामाजिक विभेदको न्यूनीकरण हुनका लागि सहज हुने बताए । सञ्चारमाध्यम मार्फत खेलाडीहरूको जीवनी, सङ्घर्ष, खेल आयोजनाका समाचारहरू तथा लेख रचनाहरू प्रकाशित तथा प्रसारण हुँदा समाजमा सकारात्मक प्रभाव पर्ने उनकाे भनाइ थियाे।
त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता महिला खेलाडी सरिता थुलुङ्गले खेलकुद अन्य नागरिकहरूका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि अति नै महत्त्वपूर्ण रहेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिदिएको खण्डमा अपाङ्गता प्रति सकारात्मक रूपमा जनचेतना जाग्ने, राज्यको ध्यानाकर्षण हुने उल्लेख गरिन् ।
सञ्चारमाध्यमहरूले आफ्नो सङ्घर्षको कथा प्रकाशन गरेपछि आफूले ह्वीलिचयर बास्केटबल, पौडी र भारोत्तोलन खेल खेल्दै आएको र जापान, सिङ्घापुर अमेरिका गएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सहभागी हुँदै ७ वटा स्वर्ण पदक ल्याउन सफल भएको उनकाे भनाइ थियाे ।
यस छलफलका क्रममा राष्ट्रिय समाचार समितिका सह – सम्पादक विक्रम गिरीले आफ्नो खेलकुदको पत्रकारिताको दौडानमा अपाङ्गता भएका व्यक्तिहरू खेलकुदका सामाग्रीहरूलाई आफू आबद्ध सञ्चार माध्यममा समावेश गर्दै आएको र आगामी दिनमा पनि उनीहरूका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिने बताए ।
त्यसैगरी विगत १५ वर्ष देखि अपाङ्गता क्षेत्रमा पत्रकारिता गर्दै आएकी तथा रेडियो सगरमाथामा कार्यरत सञ्चारकर्मी शर्मिला विश्वकर्माले सबै सञ्चार गृहहरू अपाङ्गता अनुकूलको बनाइनु पर्ने बताइन् । उनले सबै मिडिया हाउसहरूले कम्तीमा पनि एक जना अपाङ्गता भएका व्यक्तिलाई संवाददाता रूपमा काम गर्ने अवसर दिनु पर्ने धारणा व्यक्त गरिन् ।
पाकिस्तानमा हुने टी-२० विश्व कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका १५ जना खेलाडीहरू सहभागी हुनेछन् । खेलाडीहरूमा रमेश बहादुर बानिया कप्तान, पदम बहादुर बडैला उपकप्तान, सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल सिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की रहेका छन् भने नहेन्द्र निरौला प्रशिक्षक, तुन्बुरु उप्रेती टोली व्यवस्थापक, अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र बन्दोबस्ती व्यवस्थापक उपेन्द्र श्रेष्ठ पनि सहभागी हुनेछन् ।
उक्त प्रतियोगितामा नेपालले श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, पाकिस्तान र भारतसँग खेल्ने आयोजक संस्थाले जानकारी गराएकाे छ।
प्रतियोगिताका लागि क्रिकेट संघ नेपालले खेलकुद सामाग्री र खेल पोसाक, नेपाल राइनोज क्लबले सुजले जुत्ता, बाग्मती प्रदेश र CBM ग्लोबले क्रिकेट सामाग्री उपलब्ध गराएका छन् ।

















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया