स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै

काठमाडौँ । आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य भन्नाले सबै व्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्नु हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै यो दिवस सबैका लागि स्वास्थ्यमा लगानी गर्न र विशेष गरी कमजोर आर्थिक अवस्था भएकालाई स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन पैरवी गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको जनाएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचले प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने विषयलाई समेट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ दिगो विकास एजेण्डा सन् २०३० ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल प्रतिबद्धता अनुरूप रहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अझै पनि चार दशमलव पाँच अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको बताउँछ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउन विश्वभरका सरकारलाई विभिन्न कदम चाल्न दिवसमार्फत आह्वान गरेको बताए ।
उनले स्वास्थ्यमा सर्वव्यापी पहुँच र वित्तीय सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने, स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुन निर्माण र कार्यान्वयन गर्ने, आवश्यक स्वास्थ्य सेवाको किफायती व्यवस्थाका लागि पर्याप्त बजेट छुट्याउनेलगायत विशेष गरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिका लागि सेवा शुल्क घटाउने वा हटाउने भन्ने विषयमा पैरवी आवश्यक रहेको उल्लेख गरे ।
यसका लागि सरकारले आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालको भवन निर्माण, सेवा विस्तार, औषधि एवं उपकरणको उपलब्धता तथा सेवा विस्तार, सुरक्षित प्रसूति प्रोत्साहन योजना, सामाजिक स्वास्थ्य बिमा, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमलगायत नागरिक आरोग्य कार्यक्रम गर्दै आएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
सन् २०२१ मा नेपालको स्वास्थ्यमा सर्वव्यापी पहुँचअन्तर्गतको सेवा पहुँच सूचकाङ्क (दिगो विकास लक्ष्य) ५४ प्रतिशत रहेको छ । उक्त तथ्याङ्कले विगतका वर्षयता क्रमिक सुधार हुँदै गएको देखाउँछ । कूल स्वास्थ्य खर्चमा (सन् २०२०) गोजीबाट भएको खर्च प्रतिशत ५४ दशमलव एक रहेको छ ।
















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया