पोर्चुगलमा घुम्ती सेवाबाट ३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौँ । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् ।
फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ ।
घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।
शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु. एक करोड नौ लाख ११ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले बताए । राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।
“दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौँ”, राजदूत भट्टराईले भने, “यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा चार पटक घुम्ती शिविर सञ्चालन गर्यौ । पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौँ ।” आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए ।
दस दिनसम्म सञ्चालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियो। घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दीपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १२ देखि २१ तारिखसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो ।
घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली संघ संस्थाले समन्वय र सहजीकरण गरेका थिए । घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया