बुधबार, चैत ४, २०८२

कलुवापुरमा खानेपानी समस्या हट्यो

मेरोन्यूज २०८१ पुष २८ गते ११:३६

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु. पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार  गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए ।

उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।

समितिले धारा जडानका लागि रु. दुई हजार शुल्क लिने गरेको छ । पानीमा महसुल दर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट रु एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए । “उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन महिनाको दुई पटक ट्यांकी सरसफाइ गर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “पानी परीक्षण संयन्त्रबाट वितरण गरिने पानीको गुणस्तर मापन कार्य पनि हुन्छ, पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत हुन्छ ।”

विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले उल्लेख गरे । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए ।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ । आयोजना निर्माण कार्य २०६७ सालदेखि थालिएको थियो । बजेट अभाव, कोरोना महामारीलगायत कारणले निर्माण कार्य ढिलो भएको बताइएको छ । आयोजनालाई पूर्ण क्षमताक साथ सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ ।

प्रतिक्रिया