बुधबार, चैत ४, २०८२

डोटी भूकम्प : घर पुनर्निर्माण अछामबाट

मेरोन्यूज २०८१ माघ ४ गते १०:४२

अछाम। डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरू हुने भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मंगलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिए। 

Advertisement
nepal life insurencenepal life insurence

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मंगलसेन नगरपालिका–५ का अध्यक्ष झंकरप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो। कामीको घर पुनर्निर्माणका लागि ४ लाख रुपैयाँ खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ। 

प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख, आंशिक क्षतिको हकमा १ लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ।

२०७९ कात्तिक २२ गते डोटी केन्द्रबिन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार ५४० घर प्रभावित भएका थिए। 

मंगलसेन नगरपालिकामा ४५६, कमलबजार नगरपालिकामा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार ४२८, रामारोशन गाउँपालिकामा २००, मेल्लेख गाउँपालिकामा ६०३, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ घरमा क्षति पुगेको थियो

प्रतिक्रिया