रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री

गुल्मी। छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो ।
हजारौँ मानिसहरुको उपस्थित रहने यस मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्लालगायत वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।
रिडी मेलामा बाग्लुङको ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिस राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि बर्सेनि आउने गरेका छन् । यसपटक पनि उनीहरुले यो व्यवसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कुसजुले बताए । “उनीहरु मेलामा समूहहरु बनाएर आउने र एक सातासम्म बसेर सामान बिक्री गरी घर फर्कने गर्दछन्”, उनले भने ।
वर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरु सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामीग्रहरु बिक्री गरेर घर खर्च चलाउने गरेको पूर्वी रुकुमबाट रिडी आइपुगेका ५५ वर्षीय मानबहादुर विकले बताए । विगतका वर्षमाभन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनले बताए । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्री हँसिया, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्रीको पनि यसपटक राम्रो व्यापार भएको उनले बताए ।
बाग्लुङको जलजलादेखि ल्याएका निगालो र बाँसबाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेको पनि उत्तिकै भीड लागेको थियो । ग्रामीण क्षेत्रमा यी वस्तुहरुको उपयोग बढी हुने भएका कारण मानिस यस्ता वस्तु खरिदका लागि रिडी मेलामा आउने गर्दछन् । पछिल्लो समय बजारमा आएका तयारी वस्तुहरुले पुराना हस्तकलाका सामग्रीको बिक्री कम हुँदै जान थालेको व्यापारका लागि रिडी आइपुगेकी रुकुमकी मनकली श्रीपालीले बताइन् । हातबाट बुनेका कम्बल, काम्लो र राडीपाखीहरुको मूल्य केही महँगो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेमा अधिकांश पाकापुस्ताका मानिस बढी देखिने गरेका छन । घरेलु उत्पादित हस्तकलाका सामग्रीको विशेषता र महत्व बुझेका मानिसले यस्ता वस्तु खोजीखोजी किनेर लैजाने गरेको स्थानीय अशोक श्रेष्ठले बताए । रिडी मेलामा रुरु क्षेत्रको दर्शनसँगै घरेलु सामग्री खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाडौँदेखि मानिसहरु आउने गर्दछन् ।
उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस् क्लब रिडीको संयुक्त आयोजनामा रुरु क्षेत्रमा माघ १ गतेदेखि छ दिनसम्म धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित रिडी मेलाको आयोजना गरिएको थियो ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया