शनिबार, फागुन ३०, २०८२

मकवानपुर ट्राफिकले ६ महिनामा सङ्कलन गर्यो १ करोड ३२ लाख राजस्व

मेरोन्यूज २०८१ माघ ९ गते १२:३०

बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारवाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् ।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया