मंगलबार, फागुन २६, २०८२

सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो

मेरोन्यूज २०८१ माघ ९ गते २०:४१

काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

घटनाको छैटौं मासिकको पुण्यतिथि (छ महिना) मा नेपाल पत्रकार महासंघको सहयोगमा आज आयोजित अन्तरक्रियामा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिनेगरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको गुनासो गरेका हुन् । गत साउन ९ गते भएको दुर्घटनामा १८ जनाको ज्यान गुमाएका थिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले महासङ्घ आबद्ध परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताउँदै पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित एयरलाइन्स पक्षलाई कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैका कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरू कुनै पनि हुँदैन ।’

वरिष्ठ पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको बताउँदै एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको जानकारी दिए । पीडित परिवारलाई न्याय उपलब्ध गराउन आफूले अभियान सञ्चालन गरेको उनले बताए । उक्त जाहाज दुर्घनामा परी पत्रकार खतिवडाको छोरी, ज्वाइँ र नाति निधन भएको थियो ।

‘घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस्’, पत्रकार खतिवडाले भने, ‘नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न सामाजिक अभियानहरू चलाउन सकियोस् । घटनामा उहाँको छोरी, ज्वाइँ र नातिले ज्यान गुमाएका थिए ।’

कार्यक्रममा महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासंघसहित सञ्चारजगतको साथ, सहयोग र खबरदारीको अपेक्षा पीडित पक्षले गरेको छ ।

प्रतिक्रिया