शनिबार, फागुन ३०, २०८२

झापामा समर्थन मूल्य भन्दा बढीमा धान बिक्री

मेरोन्यूज २०८१ माघ १२ गते १२:४४

झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । 

“यस वर्ष ५० हजार क्विन्टल धान किसान बाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भनिन्, “किसानले सरकारले तोकेको भन्दा बढी मूल्य बजारमै पाए पछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।” कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्य भन्दा बढी रहेको प्रमुख लोवाले बताइन् । 

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल ४ हजार सम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गत वर्ष ३ हजार देखि ३ हजार २०० सम्म बिक्री गरे खड्काले आर्थिक रुपमा राहत पाएकामा खुसी व्यक्त गरे । 

बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवं व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेत बाटै धान खरिद बिक्री भइरहेको जानकारी दिए । चार हजार देखि चार हजार २०० प्रतिक्विन्टल सम्म रञ्जित मन्सुली धान खरिद बिक्री भइरहेको उनले बताए । खेत बाटै धान बिक्री भएपछि धान उत्पादक किसानलाई निकै फाइदा पुगेको कृषक सङ्ग्रौलाको दाबी छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यस वर्ष तीन लाख ८५ हजार १९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया