ट्रम्पको क्यानाडा, मेक्सिको र चीनमाथिको भन्सार महसुल समयसीमाको प्रतीक्षामा संसार

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार क्यानाडा, मेक्सिको र चीनमाथि व्यापक भन्सार महसुल लगाउने समयसीमा २४ घन्टाभन्दा कम समय बाँकी रहँदा विश्व अर्थतन्त्र यसको प्रभावको लागि तयार हुँदैछ ।
यस महिना पदभार ग्रहण गरेको केही समयपछि ट्रम्पले छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे फेब्रुअरी १ मा ती मुलुकमा २५ प्रतिशत कर लगाउने योजना बनाएको बताए ।
उनले फेन्टानलकै कारण शनिबारदेखि नै चिनियाँ वस्तुहरूमा थप १० प्रतिशत शुल्क लगाउने विचार गरिरहेको पनि बताए ।
बिहीबार उनले तीनवटै देशमा कर लगाउने आफ्नो प्रतिबद्धता दोहोर्याए । त्यसै दिन पछि उहाँले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरे सतप्रतिशत शुल्क लगाउने धम्की दिए । ब्रिक्स राष्ट्रमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।
हेरोइनभन्दा धेरै गुणा शक्तिशाली फेन्टानल एक वर्षमा अति मात्रा सेवनका कारण हुने दशौँ हजार मृत्युका लागि जिम्मेवार रहेको छ ।
बेइजिङले यस घातक व्यापारमा आफ्नो संलग्नताको दाबीलाई पहिले नै खारेज गरेको छ । त्यस्तै क्यानाडाले संयुक्त राज्य अमेरिका प्रवेश गर्ने कागजातविहीन आप्रवासीहरू र फेन्टानलको एक प्रतिशतभन्दा कम मात्र उत्तरी सीमा हुँदै आउने भन्दै प्रतिवाद गरेको छ ।
जेपी मोर्गनका विश्लेषकहरू भन्सार महसुलको प्रतिज्ञा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाबीच व्यापार सम्झौताको पुनर्वार्ता गतिशील बनाउन ‘सौदाबाजीको साधन’ हो भन्ने विश्वास गर्छन् ।
“यद्यपि दशकौँ लामो स्वतन्त्र व्यापार क्षेत्रलाई सम्भावित रूपमा ध्वस्त पार्नु एउटा ठूलो धक्का हुनसक्छ”, जेपी मोर्गनको हालैको टिप्पणीमा उल्लेख छ ।
जेपी मोर्गनका अनुसार ट्रम्पको पहिलो कार्यकालबाट एउटा पाठ के थियो भने नीति परिवर्तनहरू छोटो सूचनामा घोषणा वा धम्की दिन सकिन्थ्यो ।
अमेरिकी व्यवसायहरूले विदेशबाट खरिद गर्दा सरकारलाई शुल्क तिर्छन् र आर्थिक भार आयातकर्ता, विदेशी आपूर्तिकर्ता वा उपभोक्ताहरूमा पर्न सक्छ ।
– मन्दीको जोखिम –
कर्नेल विश्वविद्यालयका सहायक प्राध्यापक वेन्डोङ झाङले क्यानाडा र मेक्सिकोले सबैभन्दा बढी २५ प्रतिशतभन्दा कम अमेरिकी कर र दुवै देशबाट समानुपातिक प्रतिशोधको सामना गर्नुपर्ने बताए ।
“क्यानाडा र मेक्सिकोले क्रमशः वास्तविक जिडिपी (कूल गार्हस्थ्य उत्पादन) को तीन दशमलव छ प्रतिशत र दुई प्रतिशत गुमाउने छन् भने अमेरिकाले वास्तविक जिडिपीको शून्य दशमलव तीन प्रतिशत गुमाउने छ”, उनले भने ।
अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार व्यापक अमेरिकी भन्सार महसुल र ओटावाको समान प्रतिक्रियाले क्यानाडालाई यस वर्ष मन्दीमा पुर्याउन सक्छ र संयुक्त राज्य अमेरिकाले पनि हल्का मन्दीको जोखिम मोल्न सक्छ ।
मेक्सिकोले पनि यस्तै अवस्थाको सामना गर्नसक्ने अक्सफोर्ड इकोनोमिक्सका टिम हन्टरले बताए ।
क्यानाडा र मेक्सिकोमा लगाइएको करमा कच्चा तेल आयातलाई समावेश गर्ने कि नगर्ने भनेर बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको भन्दै ट्रम्पले त्यहाँ अपवाद हुन सक्छ कि भनेर स्पष्ट नभएको बताए ।
क्यानाडा र मेक्सिकोले अमेरिकी कच्चा तेल आयातको ७० प्रतिशतभन्दा बढी आपूर्ति गर्दछन् । यसमा करिब ६० प्रतिशत अमेरिकी आयात क्यानाडाबाट मात्रै हुने गरेको कङ्ग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले जनाएको छ ।
स्टिलोले भने, “क्यानाडाले निर्यात गर्ने र अमेरिकामा परिष्कृत गरिने भारी तेलका लागि अमेरिकामा सजिलो विकल्पहरू छैनन् ।”
पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स ९पिआइआइइ० का अनुसार दुवै देशबाट हुने अमेरिकी व्यापारिक सामानको आयात धेरै हदसम्म शुल्कमुक्त वा औसतमा धेरै कम दरमा हुन्छ ।
पिआइआइईको बिहीबारको प्रतिवेदनअनुसार भन्सार महसुल वृद्धिले औद्योगिक खरिदकर्ता र उपभोक्ता दुवैलाई धक्का दिनेछ र यसले मेसिनरीदेखि फलफूलसम्म सबै कुरालाई प्रभावित गर्नेछ ।
यस हप्ता क्यानाडाका अधिकारीहरूले ओटावाले अमेरिकी शुल्क लागू भएमा कामदार र व्यवसायहरूलाई महामारी–स्तरको वित्तीय सहयोग प्रदान गर्ने बताएका थिए ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले बुधबार ओटावाले भन्सार महसुल रोक्न काम गरिरहेको र कडा प्रतिक्रिया दिन तयार रहेको बताएका थिए।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देश भन्सार महसुलबाट बच्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
ट्रम्पका वाणिज्यमन्त्री मनोनीत हावर्ड लुटनिकले बुधबार यदि क्यानाडा र मेक्सिकोले आप्रवासन र फेन्टानलमा कार्य गरे भने ‘कुनै शुल्क लाग्ने छैन’ भने ।
– ठूलो सम्झौता –
ट्रम्पले चिनियाँ वस्तुहरूमाथि नयाँ भन्सार महसुल लगाउने विचार पनि गरिरहेका छन् । बिहीबार उनले यसबारे विचार गरिरहेको बताए ।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस हप्ता पत्रकारहरूलाई भने, “राष्ट्रपतिले भन्नुभएको छ कि उहाँले फेब्रुअरी १ का लागि त्यसबारे अझै पनि गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ ।”
बेइजिङले आफ्नो ‘राष्ट्रिय हित’ को रक्षा गर्ने प्रतिज्ञा गरेको छ र विदेश मन्त्रालयकी एक प्रवक्ताले पहिले नै ‘व्यापार युद्धमा कोही पनि विजेता हुँदैन’ भन्दै चेतावनी दिएकी थिइन् ।
निर्वाचन प्रचार अभियानमा ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशत वा सोभन्दा बढी भन्सार महसुल लगाउने विचार उठाएका थिए ।
वित्तीय सेवा कम्पनी बिटिआइजीका आइज्याक बोल्टान्स्कीले चिनियाँ सामानहरूमा ‘क्रमिक भन्सार महसुल वृद्धि’ देख्ने अपेक्षा गरेका छन् । यसमा उपभोक्ता वस्तुहरूमा कम वृद्धि हुने सम्भावना छ ।
“हाम्रो बुझाइमा ट्रम्प चीनसँग फाइदा र धम्कीको बीचमा घुम्नुहुनेछ, जसको अन्तिम लक्ष्य उहाँको कार्यकाल समाप्त हुनुअघि कुनै प्रकारको ठूलो सम्झौता गर्नु हो”, उनले हालैको एक टिप्पणीमा भने ।
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया