सोमबार, फागुन ११, २०८२

सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, भारतका बैंकमा पुर्‍याए ३ अर्ब

मेरोन्यूज २०८१ माघ २० गते १८:०५

काठमाडौं । ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्‍याएको पाइएको छ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ। यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ।  

पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रवातकुमार साह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोज कुमार रहेका छन्।

ती भारतीय नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र मध्य प्रदेशका हुन्।

यसैगरी, प्रहरीले अनलाइन जुवामा संलग्न १४ जना नेपालीलाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी भीष्म वली रहेका छन्।

यसैगरी, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रविन विष्ट रहेका छन्। उनीहरू प्यूठान, डोटी र सुर्खेतका छन्। पक्राउ परेकाहरू अधिकांश नेपाली प्यूठानका रहेको प्रहरीले जनाएको छ।

उनीहरूले ललितपुर महानगरपालिका-२ सानेपामा दुई वटा घर भाडामा लिएका थिए। उनीहरूले त्यहाँ कार्यालय नै खोलेका थिए।

उनीहरूले व्यावसायिक तरिकाले अनलाइन जुवा खेल्ने/खेलाउने गरेको पाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले बताए।

बस्नेतका अनुसार उनीहरूले बेटिङ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको भेटिएको छ। उनीहरूले आठ वटाभन्दा बढी बेटिङ साइट प्रयोग गरेर अनलाइन जुवा खेलाउँथे।

‘बेटिङ खेल्ने भारतीय एजेन्टसँग ह्वाट्सएपमार्फत् सम्पर्क गराउने गरेको अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने।

पक्राउ परेकाले अनलाइन/अफलाइन दुबै प्रकृतिको जुवा खेलाउने गरेका थिए। हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै निक्षेप गर्ने गरेको र झिक्ने गरेको पाइएको बस्नेतले बताए।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ३ अर्ब ४ करोड ७३ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको बस्नेतले बताए।

प्रहरीसँगको प्रारम्भिक बयानमा पक्राउ परेकाले विगत छ-सात महिनायता अनलाइन जुवा खेलाएको उल्लेख गरेका छन्।

अनलाइन जुवाका लागि १ लाख ६० हजार र १ लाख २० हजारमा सानेपामा उनीहरूले भाडामा घर लिएको पाइएको छ। त्यहीँ हिसाब-किताब गर्ने र नेपालीहरूलाई भने मासिक ३० हजार रुपैयाँ तलब दिएर काममा खटाएको पाइएको एसएसपी बस्नेतले बताए।  

नीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२९ अन्तर्गत जुवा खेल्न, सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय ऐन २०१९ अनुसार थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

दुई वटा घरबाट पक्राउ परेकाहरूले प्रयोग गरिरहेका सामग्री बरामद गरिएको छ। ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम, सिमकार्य ८८ थान, चेकबुक १२ थान, भारतीय आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया