नेपालमा यसकारण बढिरहेका छन् क्यान्सरका बिरामी
क्यान्सर रोग लाग्यो भन्दैमा डराउने, आत्तिने, नर्भस हुनुपर्ने केहि छैन । समयमै पहिचान भएर उपचार हुने हो भने यसलाई निर्मुल पार्न सकिन्छ ।

काठमाडौं। आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।
क्यान्सर रोग लाग्ने बित्तिकै जीवन सकियो भन्ने आम बुझाइ छ । जसकारण यो रोग लागेका बिरामी भयभित हुने गर्छन् ।
क्यान्सर आफैमा घातक रोग हो । तर प्रारम्भिक दिनमै पहिचान भएको खण्डमा भने आवश्यक उपचारद्वारा क्यान्सर राेग निको पार्न सकिन्छ ।
प्रस्तुत छ यसै सन्दर्भमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग मेरोन्यूजकर्मी उर्मिला शर्माले गरेको कुराकानी :
क्यान्सर साँच्चै डरलाग्दो रोग हो ?
क्यान्सर लाग्दैमा डराउनु पर्दैन । यो रोग लागेका बिरामी सबै काम छोडेर अब त जीवन सकियो भन्दै डराएर बस्छन् । क्यान्सर रोग लाग्यो भन्दैमा डराउने, आत्तिने, नर्भस हुनुपर्ने केहि छैन । क्यान्सर लागेमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्दछ । सही समयमा क्यान्सर पहिचान हुन सक्यो भने यसलाई निको पार्न सकिन्छ ।
क्यान्सरबारे बुझाइ, समाजमा गरिएको नकरात्मक चित्रणले गर्दा यसप्रति त्रास बढेको हो । यो थाइरोइड, सुगर, प्रेसर जस्तै दिर्घ रोग हो । क्यान्सरको समयमै पहिचान भएर उपचार हुने हो भने यसलाई निर्मुल पार्न सकिन्छ ।
खासमा के हो त क्यान्सर रोग ? कसरी लाग्ने रहेछ ?
खराब जीवनशैली त्यसमा पनि खानपान, आराम र आहारा यो तीनवटा कुराको सन्तुलन नहुँदा शरीरमा समस्या उत्पन्न हुन्छ । जसले गर्दा क्यान्सर रोग निम्तिने सम्भावना रहन्छ । ठ्याक्कै क्यान्सर के हो भन्ने हो भने हाम्रो शरीरमा रहेका कोषिकाहरु अनियन्त्रित भएर विभाजन हुन्छन् । उदाहरणका लागि फोक्सोमा भएका कोषिकाहरू अनियन्त्रित भएर विभाजन हुन्छन् । यस्तो अवस्थालाई फोक्सोको क्यान्सर भनिन्छ ।
क्यान्सर हुने कारण भनेको व्यक्तिको खानपान, जिवनशैली, वायुप्रदुषण वा भाइरसहरुले गर्दा शरीरमा कार्सिनोजिन जान सक्छ । जसले गर्दा शरीरको डिएनए म्युटेशन हुन्छ । त्यसपश्चात शरीरका कोषिका विभाजन हुन थाल्छन् ।
अहिले जंक फुड, फास्ट फुड, प्रोसेस्ड फुडहरु, बासी सडेगलेका, धेरे पोलेका खानकुरा खाने प्रचलन बढ्दो छ । सँगसँगै अहिलेका युवापुस्ताहरु धुम्रपान, मद्यपानमा निकै आकर्षित भइरहेको देखिन्छ । धुम्रपान र मद्यपान क्यान्सर रोग लगाउने प्रमुख कारक तत्व हुन् भनी विश्व स्वास्थ्य संगठनले समेत पुष्टि गरिसकेको छ ।
यसबाहेक मोटोपना, आजभोली धेरैजसो काम कम्प्युटरमा बसेर गर्ने हुनाले पनि शारीरीक कसरत कम हुन्छ । जसले गर्दा शरीरमा बोसो जम्मा भएर मोटोपना आउँछ । धुम्रपान र मद्यपानपछि क्यान्सर बनाउने दोस्रो प्रमुख कारक तत्व मोटोपना हो ।

नेपालमा उपचारको व्यवस्था कस्तो छ ?
अहिले नेपालसहित विश्वभर क्यान्सर रोगका बिरामिहरुको संख्या बढ्दो क्रममा छ । जिवनशैलीमा आएको परिवर्तन, तनाव, फोहोर जस्ता कुराले नेपालमा पनि यस रोगका बिरामी बढिरहेका छन् ।
सन् २०२२ सालको विश्व स्वास्थ्य संगठनको तथ्यांकका अनुसार नेपालमा वर्षेनी २५ हजारदेखि ३५ हजार क्यान्सरका नयाँ बिरामी भेटिने गरेका छन् ।
जसमध्ये पुरुषलाई सबैभन्दा बढी फोक्सोको, ठुलो आन्द्राको, पेटको क्यान्सर देखिने गरेको छ भने महिलाहरुलाई सबैभन्दा बढी स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पित्तथैली, ठुलो आन्द्रा, पेट लगायतको क्यान्सर देखिने गरेको पाइन्छ ।
क्यान्सर समयमै पहिचान भयो भने नेपालमा सजिलै उपचार गर्न सकिन्छ । तर यो रोग शरीरभरी फैलिइ सकेको अवस्थामा भने निर्मुल पार्न सकिँदैन । यस्तो अवस्थामा बिरामीलाई निरन्तर औषधी खुवाएर जीवन लम्ब्याउन सकिन्छ ।
क्यान्सरका विभिन्न स्टेज हुन्छन् । शून्यदेखि तीन स्टेजसम्मको लागि निर्मुल पार्ने उपचार हुने गर्दछ । र स्टेज ४ का बिरामीलाई भने पुरै निको गर्न सकिँदैन । तर नियन्त्रण गर्ने गरी उपचारको प्रयास गरिन्छ ।
क्यान्सर रोग उपचारका लागि प्रयोग हुने तीन पद्दती छन्, शल्यक्रिया, सेकाइ (रेडियसन थेरापी) र सिस्टमेटिक थेरापी । बिरामीको अवस्था हेरेर यी तीनवटा प्रविधि अपनाएर उपचार गरिन्छ । कसैलाई शल्यक्रिया मात्रै गरेर पनि निको पार्न सकिन्छ भने कसैलाई शल्यक्रिया र सेकाइ आवश्यक पर्छ । यी दुईले नपुगेको खण्डमा तेस्रो प्रविधि पनि अपनाएर उपचार गरिन्छ ।
यसबाहेक अहिले विभिन्न नयाँ उपचार प्रविधि आइसकेका छन् । इम्युनो थेरापी, टार्गेटेड थेरापी, बोनम्यारो ट्रान्सप्लान्ट, कार्टिस्यल थेरापी अहिलेका नयाँ उपचार प्रविधि हुन् ।
क्यान्सर रोग लाग्न नदिन के गर्ने त ?
स्वस्थ रहनका लागि दिनमा ६ देखि ८ घण्टा सुत्न आवश्यक हुन्छ । यसबाहेक दिनमा कम्तिमा आधा घण्टा कसरत, व्यायाम गर्नुपर्दछ ।
क्यान्सर रोग लाग्न नदिन ४० देखि ५० वर्ष पुगेकाहरुले वर्षमा एकपटक कम्तिमा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्दछ । त्यसमा पनि महिलाहरुले स्तन क्यान्सरका लागि वर्षको एक देखि दुई पटक म्यामोग्राम गराउनु उपयुक्त हुन्छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नलगाएका महिलाहरुले २१ वर्ष पुरा भएपछि २ वर्षको एकपटक वा कम्तिमा ३ वर्षको एकपटक पाठेघरको मुखको पानीको जाँच गराउनु पदर्छ ।
यस्तै ४० देखि ६५ वर्षका महिलाहरुले वर्षको एकपटक वा २ वर्षको एकपटक स्तनको जाँच तथा एक्स-रे गराउन सकिन्छ । यस्ता विभिन्न स्वास्थ्य सजकता अपनाउने हो भने क्यान्सर जस्ता दिर्घरोगबाट बच्न सकिन्छ ।

क्यान्सर रोग निको पार्ने खोप आउन लागेको खबर साँचो हो ?
अहिले रसियाले छिट्टै नै सबै क्यान्सर रोग निको पार्ने खोप ल्याउन लागेको भन्दै खबरहरु आइरहेका छन् । यो खबर झुटो हो । रसियाले ल्याउन लागेको भनिएको खोपबारे अहिलेसम्म कुनै आधिकारिक प्रमाण छैन । उनीहरुले कोभिडको समयमा प्रयोग भएको एमआरएनए खोप जस्तो खोप ल्याउन लागेको बताइएको छ । तर यसको कुनै लिखित तथ्यांक वा प्रमाण भने छैन । अहिलेको अवस्थामा क्यान्सर रोग निको पार्ने खोप कल्पनाको कुरा मात्रै हो । भविष्यमा आओस् भनेर कामना चाहि गरौँ ।











निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया