मंगलबार, फागुन २६, २०८२

‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’

मेरोन्यूज २०८१ माघ २२ गते २०:०६

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, सङ्घीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताए ।

“नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु”, उनले भने ।

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने भन्दै उनले संवैधानिक अधिकारबमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा सङ्घीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा स्थापना दिवस र प्रदेश सरकार स्थापना दिवस फरक–फरक दिनमा मनाउने गरिएकोमा यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको रूपमा आजको दिनलाई प्रदेशसभा र प्रदेश सरकारले सामूहिक मनाउने निर्णय गरिएको जानकारी दिए ।

संविधानले प्रदेश सरकारलाई सुव्यवस्था, विधि निर्माण र कार्यकारिणीसहित राजनीतिक, प्रशासनिक, वित्तीय हस्तान्तरण, सेवाप्रवाह, विकास एवं रोजगारीलगायत कार्यसूची नागरिकसामु वितरण गर्ने अभिभारा दिएको बताउँदै उनले लोकतन्त्र एवं सङ्घीय शासन प्रणालीअनुरूप व्यवस्थालाई सबलीकरणमार्फत सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्गमा गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताए ।

विकास, नीति र सुशासनसहित जनविश्वास र भरोसालाई बढोत्तरी गर्दै नागरिकसामु देखिने, सुनिने र महसुस गर्नेगरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्ने मार्गमा अघि बढिरहेको मुख्यमन्त्रीको भनाइ छ ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशको औचित्यलाई पुष्टि गर्नेगरी काम गर्नुआवश्यक रहेको बताए । पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश स्थापनायता महत्त्वपूर्ण कामहरू भइरहेको बताउँदै यसलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले प्रदेशमा भइरहेका विकासका कार्यक्रमले जनतामा सकारात्मक सञ्चार प्रवाह भएको दावी गरे । 

कार्यक्रममा प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिनुका साथै जातजातिका संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश सरकारका उपलब्धि समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया