बुधबार, वैशाख १०, २०८२

बंगलादेशमा फेरि किन भड्कियो हिंसा ?

मेरोन्यूज २०८१ माघ २४ गते १४:५९

काठमाडौं । बंगलादेशमा फेरि हिंसा भड्किएको छ।

बुधबार राति पूर्व प्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी-३२ मा रहेको उनका बुबा शेख मुजीबुर रहमानको घरमा आगजनी गरेका छन् । उनीहरूले घरसमेत भत्काइदिएको बीबीसी बंगलामा उल्लेख छ ।

रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।

आन्दोलन चर्किएसँगै ५ अगस्ट २०२४ मा शेख हसिना देश छाडेर भारत गएकी थिइन् । उनी अहिलेसम्म फर्किएकी छैनन् ।

हसिनाको ढलेपछि बंगलादेशमा अन्तरिम सरकार बनाइएको थियो।

फेरि किन भड्कियो हिंसा ?

आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।

विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट- जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।

आक्रमणबारे अन्तरिम सरकारले अहिलेसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन । सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहेका छन् ।

छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।

“हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भने, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।”

रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने ।

प्रतिक्रिया