सोमबार, जेठ २६, २०८२

सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड : सरकार मालिक र नागरिक दास हो ?

मेरोन्यूज २०८१ माघ २४ गते १५:१३

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्।

प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै दाहालले यस्तो बताएका हुन्।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ।’

दाहालले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिएको बताए।

‘सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हत्कडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो?,’ उनले भने। 

Advertisement
machhapuchare

पाथिभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्कुलुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो रोजिएको बताए। 

‘टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईंहरूले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरकुश सोंच हो,’ दाहालले भने, ‘यो के हो? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू? संविधानभन्दा माथि हो? तपाईंहरू मालिक र नागरिक दास हो?’

प्रतिक्रिया