मंगलबार, फागुन १२, २०८२

युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, ३ जना पक्राउ

मेरोन्यूज २०८१ माघ २७ गते १८:०९

काठमाडौं । बेरोजगार युवा-युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजपुर नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार रायमाझीलाई ललितपुर, पौडेललाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो।

यस्तै, राईलाई शुक्रबार भक्तपुरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

राईविरूद्ध युके पठाइदिने बहानामा पाँच जना व्यक्तिबाट २७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ६ लाख ४० हजार रुपैयाँको तीन वटा र प्रहरी वृत्त कीर्तिपुरमा २ लाख रुपैयाँ र युके पठाइदिने भन्दै १९ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेको मुद्दा वैदेशिक रोजगार विभागमा रहेको एसएसपी बस्नेतले बताए।

यसैगरी, रायमाझीले सिंगापुर पठाइदिने बहानामा तीन जना पीडितबाट ७ लाख र पौडेलले क्रोएसिया पठाइदिने बहानामा दुई जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको पाइएको बस्नेतले बताए

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया