मंगलबार, वैशाख १६, २०८२

पूर्वराजाको सर्मथनमा जनलहर उर्लिएपछि शीर्ष नेताहरुले के भने ?

मेरोन्यूज २०८१ फागुन २६ गते १७:४६

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा हजारौंको संख्यामा जनता उर्लिएपछि देशमा नयाँ तरङ्ग पैदा भएको छ ।

आइतबार पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो भिड देखिएको थियो । झन्डै एक महिना पोखरा बसेर फर्केका ज्ञानेन्द्रलाई जनताले स्वागत मात्र गरेनन्, र्‍याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म पुर्‍याए।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले एक भिडियो सन्देशमार्फत आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरुले गतिविधि बढाउन थालेका थिए ।

राजनीतिक दल र तिनका शीर्षनेताहरुले कसैको आड उक्साहटमा ज्ञानेन्द्रले जनताको साथ मागेको प्रतिकिया दिएका छन् । नेपालमा अब कुनैपनि हालतमा राजतन्त्र फकर्ने सम्भावना नरहेको उनीहरुको तर्क छ ।

राजावादीहरूले गतिविधि बढाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वनिर्धारित मधेस केन्द्रित अभियान नै स्थगित गरेर काठमाडौं आएका थिए ।

पूर्वराजाले जनताको साथ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास भएको बताएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै ओलीले भने- ‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ ?’

ज्ञानेन्द्रले चुनावमा साथ मागेको कि के मागेको भनी ओलीले प्रश्न गरे । “म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?,” ओलीको प्रश्न छ ।

राजनीतिमा आउने भए आफूहरू शाहलाई स्वागत गर्न तयार रहेको ओलीको भनाइ छ। ‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं,’ ओलीले भने, ‘अराजनीतिमा आउने कि राजनीतिमारु केमा साथ माग्नुभएको हो बुझिएन। अहिले बुझिएन मात्रै भनौँ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको बताएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकारका रबैयाले जनतामा निराशा बढेको निष्कर्ष निकालेको छ ।

प्रतिगमनको कुनै सम्भावना छैन । राजा पुनस्थापित हुने कुनै सम्भावना छैन । प्रतिगामीहरु सल्बलाइरहेका छन् । यसले नेपाली जनतालाई केहि फरक पार्दैन । पहिले देखि चाहना राख्नेहरुले केहि आशा राखेको त देखीय तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुन्छ भने बारेमा हामी एक मत छौं । सरकारको कुशासन, अहिले हेर्यौं भने हरेक क्षेत्रमा असफल देखिएको छ ।’

माओवादीले सदन र सडकबाट पूर्वराजाको गतिविधिको विरोध गर्ने निर्णय पनि गरेको छ । “संविधानविपरीत गतिविधिका बारेमा विरोध सडक र सदनबाट विरोध गर्नुपर्छ । सदनबाट समय पाएसम्म चलाउने कुरा भएको छ,” पार्टीका एक नेताले भने ।

सरकारको कारण निराशा बढेको माओवादीको निष्कर्ष छ । “सरकारका रबैयाले मान्छेमा निराशा बढेको छ । यसमै पूर्व दरबारिया सक्रिय भएका छन् । भ्रष्टाचार, नालायकीपनविरुद्ध पनि आवाज उठाउनुपर्छ भन्ने कुरा भएको छ,” नेताले भने ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन सोमबार धनगढी पुगेका देउवाले भने, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।” उनले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि जनताको चाहना र भावनाविपरीत रहेको निचोड निकालेको छ ।

“अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत छन्,” पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले विज्ञप्तिमार्फत भनेका छन्, “यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।”

बैठकले पूर्वराजाले इतिहासमा गरेका कुकर्मको ‘नांगेझार’ गर्न पनि अपिल गरेको छ । “वर्तमान गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ,” बैठकको निर्णयमा भनिएको छ ।

बैठकले गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनका निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया