बिहीबार, फागुन २८, २०८२

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

मेरोन्यूज २०८१ फागुन २६ गते १९:४३

चितवन।  भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

केन्द्र  प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा १० दशमलव ७७, २०७७-७८ मा पाँच दशमलव ४८, २०७८-०७९ मा पाँच दशमलव ४९, २०७९-०८० मा सात दशमलव ६२ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८०-०८१ मा छ दशमलव ५२ मा रहेको थियो । यस आवमा भने यस विगत वर्षका भन्दा कम चुहावट भएको पाइएको श्रेष्ठले बताए । 

चुहावट नियन्त्रणका लागि सचेतना अभिवृद्धिलगायत विभिन्न कार्यक्रम गर्नाका साथै समाजमा साक्षरता बढेसँगै चुहावटमा कमी आएको उनको बुझाइ छ । 

विद्युत् चुहावटमा कमी आएसँगै ग्राहकको सङ्ख्या थपिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ५७ हजार चार सय ६८ ग्राहक रहेको यस कार्यालयमा हाल ७२ हजार ८१ ग्राहक पुगेको छ । 

आर्थिक वर्ष २०७६-७७ मा १६ दशमलव दुई करोड युनिट विद्युत् खपत भएको यस केन्द्रले हाल २२ दशमलव तीन करोडभन्दा बढी विद्युत् बिक्री गर्दै आएको छ ।  

पछिल्लो समय अनलाइन महसुल बुझाउने ग्राहकको सङ्ख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा ३४ प्रतिशत ग्राहकले अनलाइनबाट विद्युत्  महसुल बुझाउने गरेकामा हाल ६२ प्रतिशत ग्राहकले अनलाइन विद्युत् महसुल बुझाउने गरेका छन् । 
 

प्रतिक्रिया