लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा

टेक्सस (अमेरिका) । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।
भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरुको टोलीले टेक्ससका राज्यसभाका सांसदहरु, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछट्टै अन्तरक्रिया गरेको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिए ।
टेक्ससस्थित अमेरिकी तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, नेपाली धर्म–संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यसै सन्दर्भमा टेक्सस राज्यसभाको बैठकले नगरप्रमुखहरुको उपस्थितिमा सङ्कल्प प्रस्ताव पारित गर्दै ‘लुम्बिनी एड्भोकेसी डे’ समेत घोषणा गरेको छ ।
“हाम्रो भ्रमणको उद्देश्य भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउनु नै हो । भ्रमणका क्रममा हामीले अमेरिकाका स्थानीय नगरपालिकासँग भगिनीसम्बन्ध स्थापित गर्ने, लुम्बिनी क्षेत्रको बारेमा तयार पारिएको जानकारीमूलक सामग्री वितरण गरी अमेरिकी तथा नेपाली नागरिकलाई नेपालको बुद्धभूमि र बुद्ध परिपथका नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिने हो”, देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले भने ।
नेपाली समाज टेक्सस, ग्रेटर अष्ट्रिन नेपाली समाज, लुम्बिनी सेवा समाजलगायतका संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी परिपथका प्रमुखहरुले अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई लुम्बिनी भ्रमण गराउन आग्रह गरेका थिए ।
“अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपालको बारेमा जानकारी छैन । बिदा मनाउन अष्ट्रेलिया, स्वीजरल्याण्ड होइन, नेपालको लुम्बिनी घुम्ने योजना बनाइदिनुस् । यसले दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्छ । उनीहरुमार्फत अमेरिकी समुदायमा लुम्बिनीको प्रचारप्रसार गर्न सहयोग पुग्छ”, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले भने ।
रामनगर नगरपालिका नवलपरासीका प्रमुख धनपत यादवले अमेरिका भ्रमणबाट आफुहरु उत्साहित भएको बताए । यसबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गर्न सहयोग मिल्ने उनको भनाइ थियो ।
लुम्बिनी परिपथका प्रमुखको टोलीले न्यूयोर्कमा प्रमुखसँग भेटघाट, भर्जिनियामा गैरआवासीय नेपाली सङ्घ अमेरिका र मेरिल्याण्डको बाल्टिमोरमा बाना संस्थासँग पर्यटन विकाससम्बन्धी समझदारी गर्ने र वासिङ्गटन डिसीमा नेपाली दूतावाससँग छलफल गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली सङ्घ अमेरिका पर्यटन विभागले जनाएको छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया