शुक्रबार, फागुन २९, २०८२

कोशी प्रदेशमा धेरै कुरा सही बाटोमा ल्याउन खोजिरहेको छु : मुख्यमन्त्री कार्की

मेरोन्यूज २०८१ चैत ९ गते १८:११

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफू मुख्यमन्त्री भएपछि धेरै कुरालाई सही बाटोमा ल्याउने प्रयास गरिरहेको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले प्रदेश सरकारले गरेको काम हेरेर ठिक भए ठिक र बेठिक भए बेठिक भनिदिन पत्रकारलाई आग्रह गरे। 

अहिले सामाजिक सञ्जालमार्फत समाजमा अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसको प्रतिवाद आवश्यक रहेको बताए। ‘लोकतान्त्रिक शासन प्रणालीलाई पनि चुनौती दिने खालका अभिव्यक्तहरू आउने गरेका छन्’, उनले भने।

अहिले अभियन्ता बनेकाहरूको विगत र उनीहरू अहिले कसरी आएका छन् भन्ने कुरा सञ्चारमाध्यमले राखिदिए नागरिक छर्लङ्ग हुने उनले बताए। पत्रकारहरूलाई उनीहरूको विगत हेरिदिन उनले आग्रह गरे। कार्कीले जे हो त्यही सत्य सार्वजनिक गरिदिने हो भने लोकतन्त्रको रक्षामा ठूलो योगदान पुग्ने बताए।

शेरबहादुर देउवा र केपी ओलीको बीचमा मुलुकको ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने, संविधान संशोधनका लागि काम गर्ने सहमति भएको बताउँदै कार्कीले पहिलो बुँदामा राम्रो प्रगति हुँदै गएको बताए। अहिलेको सरकारले उल्लेख्य राजश्व सङ्कलन गरेको उनको उनले उदाहरण दिए। ‘मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउन अहिलेको सरकार सफल भएको छ’, उनले भने।

प्रजातन्त्र भनेको छाड हिँड्ने कुरा नभएको बताउँदै कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्नै पर्ने बताए। कुनै पनि व्यक्तिलाई छाडा बन्नबाट रोक्न सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन आवश्यक रहेको उनको धारणा छ।

सरकारले अध्यादेश ल्याउने कुरा पनि संविधानसम्मत कुरा भएको बताउँदै कार्कीले सरकार पूर्ण रूपमा लोकतान्त्रिक बाटोबाट सही दिशामा अघि बढेको बताए।

कार्कीले पहाडका बसाइसराइ रोक्न कोशी प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताए। प्रदेश सेतो हात्ती भयो, पाल्न गाह्रो भयो भन्नेलाई प्रदेश सरकारले गरेको काम हेर्न पनि उनले आग्रह गरे।

प्रतिक्रिया