उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु (नवलपरासी)। नवलपरासीको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।
प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।
प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचार पश्चात् मङ्गलवार फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न समस्या भएपछि प्राकृतिक उपचारका लागि आएका उनी निको भएर फर्कन लागेको बताए ।
यहाँ आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बढेको हो । पूर्व सभामुख ओनसरी घर्तीका अनुसार यहाँको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान, र योग साधनामा केन्द्रित छ ।
प्राकृतिक चिकित्सालयमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरु उपचारका लागि आएका सो चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनकारी दिए । केही वर्षयता यहाँ विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशीहरू पनि आउन थालेका छन् ।
विसं २०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन मुलुकभित्रका मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् । तत्कालीन समयमा ५२ श्ययाबाट सुरु गरिएको संस्थामा हाल तीन सय श्ययाको क्षमता रहेको छ ।
“अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्”, व्यवस्थापक सापकोटाले भने, “सर्जरीबाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।”
चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । “चिकित्सालयमा हालसम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ”, उनले भने ।
प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा।आजाद पुरीले बताए । प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घरोग हुने बाटो नै बन्द गर्ने डा पुरीको भनाइ छ ।













One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया