सोमबार, चैत २३, २०८२

मकवानपुरमा भोलिदेखि निषेधाज्ञा लागू, हिँडडुलमा राेक

मेरोन्यूज २०७८ वैशाख १८ गते १९:३५
फाइल फाेटाे

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ः०० देखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यही वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । बैठकले अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने, औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार, बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया