शनिबार, वैशाख ६, २०८२

३० हजारका लागि सैफअलीको घरमा पसेका थिए अभियुक्त, बयानमा के-के भने ?

मेरोन्यूज २०८२ वैशाख २ गते १५:२२

काठमाडौं । अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ।

मुम्बई प्रहरीले अप्रिल १२ मा बान्द्रा अदालतमा १६१३ पृष्ठभन्दा बढीको आरोपपत्र दायर गरेको थियो। जसबाट अहिले धेरै खुलासा भएका छन्।

आरोपपत्रका अनुसार, अभियुक्त मोहम्मद शरीफुल इस्लाम शहजादले प्रहरीलाई आफू भारतीय राहदानी प्राप्त गर्ने उद्देश्यले मात्र भारत आएको बताएका छन्।

आरोपीले नक्कली आधार कार्ड र प्यान कार्ड बनाउनको लागि ३० हजार रुपैयाँ आवश्यक परेकाले चोरी गर्नका लागि सैफको घरमा पसेको बताएका छन् ।

बंगलादेशी नागरिकको तुलनामा भारतीय नागरिकलाई विदेशमा काम गर्न भिसा प्राप्त गर्न धेरै सजिलो छ। यस्तो अवस्थामा, उनले पहिले नक्कली आधार र प्यान कार्ड बनाउने योजना बनाएका थिए, ताकि पछि राहदानीको लागि आवेदन दिन सकूँ आरोपपत्रमा उनले भनेका छन् ।

शहजादले प्रहरीलाई आफू बंगलादेशको झलोकाठी जिल्लाको भएको र लुटपाटको प्रयास हुनुभन्दा आठ महिना अघि अवैध रूपमा भारत आएको बताएका छन्। मुम्बई आउनुअघि आफु लगभग १५ दिन कोलकातामा रहेको उनको भनाइ छ।

आरोपीले बताए अनुसार उनी मुम्बईको एक होटलमा काम गर्थे र जनवरी १५ मा एक दिन बिदा लिएका थिए। उनले नक्कली प्यान कार्ड र आधार कार्ड बनाउनु परेको थियो। यसका लागि उनले नक्कली कागजात बनाएर ३० हजार रुपैयाँ मागेको व्यक्तिसँग पनि कुरा गरेका थिए।

शहजादले प्रहरीलाई बताएअनुसार उनी सैफ अली खानको घर नजिकै रहेको भवनको छतमा गएका थिए। त्यहाँबाट उनी हाम फालेर सैफको घरभित्र पसे। त्यसपछि उनी भवनको पछाडिको सिँढी चढे, जहाँ उनले सुरक्षा जाली भेट्टाए। त्यसपछि कटरको मद्दतले उक्त जाली काटेर एयर कन्डिसनिङ डक्टबाट भित्र पसेका थिए ।

यसपछि उनी बाथरूम हुँदै सैफको घरमा प्रवेश गरे। उनले त्यहाँ दुई जना हेरचाहकर्ता देखेको प्रहरीलाई बताएका छन्। उनका अनुसार एउटीले महिला आफ्नो मोबाइल फोन प्रयोग गरिरहेकी थिइन् भने अर्की सुतिरहेकी थिइन्। साथै एउटा बच्चा (जेह) ओछ्यानमा सुतिरहेको थियो।

प्रहरीलाई आरोपीले भनेअनुसार जब उनी घरभित्र पसे, महिलाले उनलाई के चाहिन्छ भनेर सोधिन्। आफुले १ करोड रुपैयाँ मागेको र यसैबीच अभिनेता सैफ त्यहाँ आइपुगेको उनको भनाइ छ ।

आरोपपत्र अनुसार, अभियुक्तले भाग्न खोजे र त्यसपछि सैफमाथि चक्कुले आक्रमण गरे।

जनवरी १५ मा सैफ अली खानमाथि उनको घर सतगुरु शरण अपार्टमेन्ट भित्र आक्रमण भएको थियो। उनको हात, मेरुदण्ड र ढाडमा चोट लागेको थियो। उपचार पछि, अभिनेतालाई जनवरी २१ मा डिस्चार्ज गरिएको थियो।

प्रतिक्रिया