वीरगञ्जको निषेधाज्ञा आजबाट हट्ने

वीरगञ्ज। वीरगञ्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा आजबाट हट्ने भएको छ । बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जमा जारी निषेधाज्ञा शुक्रबार बिहान ७ः०० बजेदेखि हटाउने निर्णय गरेको हो।
गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा हिन्दु र इस्लाम धर्मावलम्बी बिच झडप भए पछि शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो। त्यसपछि गत आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।
शुक्रबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीका तर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।
प्रतिक्रिया