सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

गण्डकी– तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ ।
पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । २०७९ साल साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न अझै एक वर्ष लाग्ने बताए ।
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भएको उनले जानकारी दिए । तीनवटा टावर निर्माण भइसकेको र एउटा निर्माणका क्रममा रहेको प्रमुख कुँवरले बताए ।आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बर्ताए ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्ने छ । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ ।
एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने प्रमुख कुँवरको भनाइ छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।
पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।
पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ ।
कुल ४१.४५ किमी दूरीको पूर्वी खण्डमा तीन किमीमात्र कालोपत्र हुन बाँकी छ । कुल ३८.८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३५.५ किमी एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए ।















कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया