अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७० र मिडियमको ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० पुगेकामा केही दिनपछि घटेको थियो । एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ ।
अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताए । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर १०८ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० बाट बढेर ११५ पुगेको छ ।
तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो सातले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए । यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर ६० प्रतिकिलो पर्न आउँछ । देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए ।
नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ । रासस









अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया