कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल
मेरोन्यूज
२०८२ जेठ ३ गते २०:३६

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
बैठकपछि उनले भने, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गरे ।”
बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिएका थिए ।
सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पारे । उनले सरकार परिवर्तनबारे कांग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गरे ।
अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताए ।
बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्माेचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
सम्बन्धित









उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया