ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो

झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
“कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भन्नुभयो । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।
झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए ।
पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ । पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् ।
इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् । यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएका छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया