बुधबार, जेठ ७, २०८२

विश्व पौडेलविरूद्धको रिट दरपीठमाथिको सुनुवाइ सकियो, केही बेरमा आदेश आउँदै

मेरोन्यूज २०८२ जेठ ६ गते १६:५५

काठमाडौं । गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई सकिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको चर्चाबीच सर्वोच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरेको थियो ।

शुक्रबार सर्वोच्च अदालतले ‘समाचारमा मात्रै आएको हुनाले अपरिपक्व अवस्था रहेको र सामूहिक अधिकार हनन् भयो भन्ने दाबी कसरी भएको हो भन्ने खुलाउन नसकेको’ ‘अपरिपक्व’ भन्दै रिट दरपीठ गरेका थिए । उक्त रिट विरूद्ध अधिवक्ता उप्रेती र थापाले निवेदन दिएसँगै मंगलबार न्यायाधीश मल्लको इजलासमा सुनुवाइ सकिएको हो ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।

प्रतिक्रिया