काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रूपमा खेती भइरहेको छ ।
किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।
बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरूमा भन्दा यस वर्ष काँक्रोको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए ।
यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।
गत वर्ष काँक्रोको बीउ प्रतिकिलो १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौं, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन हुने बताए ।
यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बीउ बेचेर रु तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।
कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि आठ करोड रकम बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताए ।
कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५०
प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए।
अहिले काँक्रो टिप्ने र बीउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ । असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन् । यहाँको बीउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया