मंगलबार, चैत १७, २०८२

‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित

मेरोन्यूज २०८२ असार ४ गते ११:२२

काठमाडौँ । सहकारी ठगीको पीडा र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘महाभोज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राजधानीमा सोमबार विशेष प्रर्दशन गरिएको यस फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

फिल्मले सहकारी संस्थाहरूमा हुने ठगी र भ्रष्टाचारलाई उजागर गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ। हेर्नेहरूले फिल्मले मात्र मनोरञ्जन नभई शिक्षाको पनि काम गरेको बताएका छन्। एक दर्शकले भने, “चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु।”

विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे। “संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,” उनले भने।

अभिनेता हरिवंश आचार्यले भने, “जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले अत्यन्त स्पष्ट देखाएको छ। नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ।”

सरोज खनालले फिल्मको सन्देशलाई गहिरो ठहर गर्दै भने, “गोली चलाएर मान्छे मारेको भन्दा मर्न बाध्य बनाउनेलाई ठूलो हत्यारा मान्नु पर्छ। ‘महाभोज’ले यही कुरा उजागर गरेको छ।”

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन्, जसले कथालाई प्रभावकारी बनाएको छ। जितु नेपालले फिल्मको विषयवस्तु मार्मिक र सत्यतामा आधारित रहेको बताए।

‘महाभोज’ले नेपाली समाजका गम्भीर समस्यालाई पर्दामा ल्याएर दर्शकलाई सोच्न प्रेरित गरेको छ र यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ मिसाल कायम गरेको छ।

प्रतिक्रिया