ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्रान्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।
रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले ०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो । सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब रू. २४ लाख ६० हजारबराबरको नौ हजार सात सय किलोभन्दा बढी गुड बेचिसकेको छ ।
त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र पाँच हजार दुई सयबराबरको १५ किलो चकलेट बेचिसकेको छ ।
विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रूपमै हुने भएकाले थोरै संख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर, अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन् ।
‘खुदो उद्योग स्थापना भएपछि उखु किसानको संख्या पनि बढ्दै गएको छ । अहिले वडा नं. ३ र ४ मा मात्र उखुखेती गर्ने कुल किसान संख्या करिब चार सय हाराहारी छ भने एक सयहाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्,’ सहकारी अध्यक्ष ज्ञवालीले भने, ‘रूरू क्षेत्रमा अहिले तीन हजार दुई सय रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि, २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्र खुखेती गरिन्थ्यो ।’
सहकारीका अनुसार गत माघयता ३१ लाखबराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ । उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठजना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् ।
गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही संख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए ।
उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्राविमा विद्यार्थी संख्या कम भएपछि उनीहरूलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ ।
‘क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन,’ थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । बिस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए ।
उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालू आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै, उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग गर्याे ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बिउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ ।
‘उखु नगदेबाली हो, पहिले धेरैजसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदै छ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।’
मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुड भएको भन्दै ‘थोर्गेली गुड’को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरू थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् ।
‘यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव महादेव पन्थलगायतले यहाँको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ,’ अध्यक्ष ज्ञवालीले भने ।
उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए । बिउ तथा जैविक मलमा अनुदान दिने, ठुलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिस्कृत रूपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ ।
थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन । यद्यपि, उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बिउमा केही अनुदान दिएको भए पनि संघ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ ।
‘अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ,’ वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, ‘खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।’
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया